पुष्कर खड्का
काठमाडौ । सोलुखुम्बुको सल्लेरीबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ। बा. प्र. -०१-००६ ख ५५८२ नम्बरको श्री उग्रचण्डी यातायात समितिको बस शुक्रबार बिहान सोलु दुधकुण्ड नगरपालिका–७ माथिल्लो साल्मे स्थित सिद्धिचरण लोकमार्गमा
सडकमा अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनामा परी २ जना घाइते भएको छन् । घाइते हुनेमा सिन्धुली फिक्कल गाउँपालिका–२ निवासी करिब ३२ वर्षीय बस चालक होम बहादुर लुङ्गेली र रामेछाप लिखु तामाकोसी गाउँपालिका–७ निवासी करिब ३१ वर्षीय सहचालक तारा बहादुर बुढाथोकीको रहेका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायव उपरीक्षक मनोजित कुँवरको कमाण्डमा टोली खटिएको थियो। बसमा चालक, सहचालक,सहित ७ जना सवार थिए। अन्य पाँच जना सकुशल रहेका छन्। बसको दाहिने भागमा क्षति पुगेको छ भने सडक अवरुद्ध भएको छ।
बस हटाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।