काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेकी नेकपा माओवादी नेतृ पक्राउ परेकी छन्। ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी हुन्।
केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोलीले आज उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्।
उनी माओवादीको रोल्पा-काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्। २०८० साउन २ गते त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रक–शुमा सुन रहेको सूचनापछि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो ।
भन्सार जाँच भईसकेर छुटेको ब्रेकशुलाई नियन्त्रणमा लिँदा ६० किलो ७१६ ग्राम सुनभेटिएको थियो । यसबाहेक पनि पटकपटक चीनबाट विभिन्न सामानभित्र राखेर सुन तस्करी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
पक्राउ परेकी उनलाई प्रतिवादी बनाउँदै पहिल्यै अभियोगपत्र दायर भईसकेकाले सिधै अदालत पेस गरिने भएको छ ।