रामेछाप । भोटेकोशी बाढीमा रसुवाको टिमुरे खोलाबाट बेपत्ता भएका तीन प्रहरीमध्ये एक जनाको शव फेला परेको छ ।
शव फेला पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ घर भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव मंगलबार साँझ ६ः२० बजे चितवनको १५ किलोस्थित त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनु भयो ।<
उहाँको जानकारी अनुसार श्रेष्ठको शवलाई भरतपुर अस्पतालमा राखिएको छ । श्रेष्ठसहित तीन जना प्रहरी भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार कार्यमा खटिएका थिए ।
उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भएकोले उनी ड्यूटीमै थिए भन्ने खुलेको एसपी पुरीको भनाई छ ।श्रेष्ठको पहिचान उनकी श्रीमतीले गरेकी हुन्।
प्रहरीचौकी हाकु रसुवामा दरबन्दी रहेका उनी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। अझै २ जना प्रहरी जवानसमेत बेपत्ता भएको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।