मोरङ । मोरङ पथरीशनिश्चरे नगर अस्पतालमा एक बर्षमा करिव १२ करोड आर्थिक संकलन भएको छ ।
पथरीशनिश्चरे नगरमा रहेको नगर अस्पतालको बुधबार छैठौं स्थापना दिवसमा प्रस्तुत प्रगति विवरणमा सरकारी अस्पतालमा विरामीहरु बार्षिक रुपमा बढ्दै गएको तथ्याङ्क आएको हो ।
नगरमा आर्थिक बर्ष २०८१÷०८२ मा ११ करोड ७९ हजार २४९ आय संकलन भएको नगरको सदस्य सचिवसमेत रहेका पथरीशनिश्चरे नगरको स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्यद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
प्रगति प्रतिवेदनमा स्थापना भएको पहिलो बर्ष २०७६ मा ९ हजार २८७ जना सेवाग्रहीले सेवा लिएको उल्लेख छ ।
२०७७ मा २५ हजार ४५, २०७८ मा ४३ हजार ४३१, २०७९ मा ६३ हजार २१४, २०८० मा ९३ हजार ५१९ र २०८१ मा १ लाख २ हजार १८७ जनाले सेवा लिएको उल्लेख छ । तथ्याङ्क हेर्दा हरेक बर्ष सेवाग्रही बढ्दै गएको देखिन्छ । ल्याब परीक्षण, एक्स—रे, भिडियो एक्स—रे लगायतको सेवाग्रही पनि बढ्दै गएको छ ।
त्यसैगरी सेवाग्रहीबाट संकलित रकम पनि बर्षेनी बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो बर्षदिनमा ११ करोड ७९ हजार २४९ रकम संकलन भएको र खर्च कटाएर १ करोड ७४ लाख ८३ हजार ३३६ बचत भएको छ । तीत बर्षदेखि करोड बढी रकम बचत भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालमा ३ जना एमबीबीएस डाक्टरसहित ३४ जना पथरीशनिश्चरे नगरपालिकाको श्रोतबाट, १७ जना अस्पताल आफ्नै श्रोत र १३ जना सरकारी कोटा गरी ६४ जना स्वास्थ्य कर्मी र कर्मचारी कार्यरत छन् ।
अस्पतालले ९८ प्रकारको औषधी निशुल्क वितरण गर्दै आएको सदस्य सचिव मुरारी आचार्यद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
अस्पतालमा आउने विरामीहरु मध्ये सबैभन्दा बढी डायबिटिज (सुगर), उच्च रक्तचाप, ग्याष्टिक जन्य, पेट, दम सम्बन्धी विरामी अलि बढी आउने गरेको उल्लेख छ । नगर अस्पतालमा केही बर्ष अघिदेखि विशेषज्ञ सेवा पनि दिन थालिएको छ ।
स्थापना दिवसमा दुई सम्मानित
पथरीशनिश्चरे नगर स्पतालको छैठौ स्थापना दिवसको अवसरमा अस्पताल स्थापित गर्न सहयोग पु¥याउने प्रदेश स्तरीय अस्पतालका डा. रबि साहा र नगर अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी एल्डिना गुरुङलाई दोसल्ला, सम्मान पत्रले सम्मान गरेको छ । गुरुङलाई नगदसहित अस्पताल सञ्चालक समिति अध्यक्षसमेत रहेका नगर प्रमुख मोहन तुम्बापोको हातबाट सम्मान गरिएको थियो ।
पथरीशनिश्चरे नगर अस्पताल २२ जनाले सहयोग दिएको १ बिगाहा ५ कट्ठा जग्गामा संघीय सरकारको बजेट अनुसार भवन निर्माण सम्पन्न हुन लागेको छ । संघीय सरकारले १८ करोड बजेट बिनियोजन गरेपनि १२ लाख १० करोडमा १५ शैयाको अस्पतान निर्माण सम्पन्न हुन लागेको हो ।
छैठौ स्थापना दिवसमा निशुल्क दन्त शिविर सञ्चालन भएको थियो । स्थापना दिवसमा संविधान सभा सदस्य चण्डीप्रसाद राई, नगरको पूर्ब प्रमुख दिलिपकुमार राई, २ नं. वडा अध्यक्ष नैना राई, नेपाली कांग्रेसका नगर कार्यकाहक अध्यक्ष कुलबहादुर गुरुङ, पञ्चायत मावि व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्तोला लगायतको शुभकामना दिएका थिए ।