• मोरङ । मोरङको पथरीशनिश्चरे—१० मा शनिबार नेपालमा लाहा खेतीको संभावना बारे अन्तरक्रिया समापन भएको छ । 
    नेपाल पत्रकार मञ्च मोरङको आयोजनामा भएको लाहा खेती प्रवद्र्धनमा मिडियाको भूमिका बारे भएको अन्तरक्रियामा लाहा सम्बन्धी व्यवसायी डम्बर विश्वकर्मा र पूर्व जिल्ला वन अधिकृत विष्णु घिमिरे सहजीकरण गरेका थिए । 
    पत्रकार मञ्चका अध्यक्ष मोहन भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा लाहा खेतीको संभावना, चुनौती र यसले दिने रोजगारी बारे बताइएको छ । 

    लाहा के हो ? 
    लाहा प्राकृतिक रुपमा रुखमा भेटिने एक प्रकारको किरा हो । यसबाट ‘चप्रा’ लगायतका विभिन्न बस्तुहरु उत्पादन गर्न सकिन्छ । चप्रा फर्निचर उद्योग र सुन पसलमा प्रयोग गरिन्छ । 
    यसको खेतीमा खास धेरै मेहनत गर्नुपर्दैन । एकपटक लगाएपछि वर्षमा दुईपटक संकलन गर्न सकिन्छ । फर्निचर उद्योग, सुन पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने लाहा अहिले भारतीय बजारबाट आउने गरेकाले स्वदेशमा नै यसको उत्पादन गर्ने उद्देश्यले यहाँ पनि लगाउन सुरु गरेको घिमिरेको भनाइ छ ।
    तल्लो भेग तथा नदी खोला आसपासका खयर, बयरलगायतका प्रजातिका रुख भएका जंगल लाहा खेतीको लागि उपयुक्त रहेको कार्यालयले जनाएको छ । लाहाको व्यवसायिक खेती विस्तारलाई जोड दिन कृषकलाई आवश्यक सहयोग गर्ने वन कार्यालयको भनाइ छ । 
    खयर, बयरसँगै लाहा खेती विस्तार गर्न सकिने सामिया लता जातको बिरुवा सव–डिभिजन वन कार्यालय लेटाङले उत्पादन गरेको छ । 
     बजारमा लाहाको माग धेरै रहेको झापामा चप्रा उद्योग सञ्चालन गरिरहनुभएका डम्बर विश्वकर्माले बताउनुभयो । लाहालाई खयर, बयर, मौवा प्रजातिका रुख विरुवासँगै सामिया लता जातको विरुवालाई विस्तार गरेर व्यवसायिक रुपमा खेती गर्न सकिने उहाँको भनाइ छ ।
    भारतको पश्चिम बङ्गालको उद्योगमा काम गर्दा नेपालमा चप्रा बिक्री हुन थालेको देखेपछि स्वदेशमै उद्योगको सम्भावना देखेर आफूले उद्योग खोलेको उद्योगी विकले बताउनुभयो । 
    लाहाको कच्चापदार्थ  प्रतिकेजी रु २५० देखि छ सयसम्म र यसको प्रशोधन गरेपश्चात प्रतिकेजी रु एक हजार ८०० देखि दुई हजारसम्ममा बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिनुभयो । विश्वकर्माले गौरदहमा १० हजार समिया लत्ता विरुवा लगाउनु भएको छ ।
    लाहाको खेती १५ देखि ३५ डिग्रिसम्मको तापक्रममा हुन्छ । मोरङको राजमार्गदेखि उत्तर क्षेत्रमा लाहा खेती हुने विज्ञहरुले बताएका छन् । 

    लाहा खेती
    विशेष रुखका नरम हाँगामा टाँसिएर त्यही हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीलाई लाहा भनिन्छ ।
    लाहाका प्रकार

    क) भाले लाहा
    लाहा भाले र पोथी गरी दुई प्रकारका हुन्छन् । भाले लाहा खुट्टा, आँखा, टाउको भएको १४÷१५ मिलिमिटर लम्बाइको तथा कलेजी रङको हुुन्छ । पोथीसँग यौन सम्पर्क भएपछि यसको मुख कुच्चिन्छ । जसले गर्दा खान नसकेर दुई÷तीन दिनमै मर्छ । एउटा भालेले ४० वटा पोथीसँग यौनक्रिडा गर्न सक्छ ।

    ख) पोथी लाहा
    यसको आकार चारदेखि पाँच मिलिमिटर तथा कलेजी रङको हुन्छ । पोथी लाहा जीवनपरन्त एक ठाउँबाट अर्को ठाउँमा हिँड्दैन । किनकि यसको आँखा, कान, खुट्टा हुँदैन । यसको पेट, मुुख र मलद्वार मात्र हुन्छ ।

    लार्भा अवस्थामा लाहा भाले वा पोथी के हो छुट्टिएको हुँदैन । जब भाले वा पोथी छुट्टिन थाल्छ त्यसबेला पोथी लाहाको पेट, मुख र मलद्वारबाहेक कुनै अङ्ग बाँकी रहँदैन । यसको आयु अन्डा उत्पादनपछि सकिन्छ ।
    पोथी र भालेको घर अलग अलग हुन्छ । सहवास गर्ने बेलामा भाले आफ्नो घरबाट निस्केर पोथीको शरीरमाथि पुग्छ ।

    रङ्गिन लाहा
    यो वर्षमा दुई पटक उत्पादन हुन्छ । पहिलो चार महिना र दोस्रो  आठ महिनामा उत्पादन हुने गर्छ । वैशाख÷जेठमा लगाएको लाहा असोज कात्तिमा झिक्नु पर्छ । असोज कात्तिकमा लगाएको लाहा वैशाख÷जेठमा झिक्ने गरिन्छ । गर्मी महिनामा चार महिनामा उत्पादन हुन्छ भने जाडो महिनामा लाहा उत्पादन हुन पाँच महिना लाग्छ ।

    कुसुमी
    यो छ÷छ महिनामा उत्पादन हुन्छ । असार÷साउनमा लगाइन्छ र माघ÷फागुनमा झिक्नु पर्छ । माघ÷फागुनमा लगाएको असार÷ साउनमा झिक्नु पर्छ ।
    व्यावसायिक दृष्टिले रङ्गिन लाहाभन्दा कुसुमी लाहा उत्कृष्ट मानिन्छ । रङ्गिन लाहाको उत्पादन कम हुन्छ । यसबाट उत्पादन भएको लाहा कमसल मानिन्छ । रङ्गिन लाहाको तौल पनि बढी हुने गर्छ । रङ्गिन लाहाभन्दा कुसुमी लाहाको उत्पादन मूूल्य र सामानको टिकाउपन पनि बढी हुन्छ । 

    लाहा उत्पादन हुने रुख
    नेपालमा रङ्गिन लाहा पलाँस, सिरिस, पिपल, बयर, रहर, लिची, मौवा आदि प्रजातिको रुखमा उत्पादन हुन्छ । कुसुमी लाहाको उत्पादन कुसुम, सेमियालता, बयर, खयर आदि प्रजातिका रुखमा हुने गर्छ । 

    लाहा उत्पादन 
    भाले र पोथीको यौनक्रिडापश्चात् पोथी कीराको शरीरमा परिवर्तन हुन्छ । त्यसले हाँगाको रस अत्यधिक चुस्ने गर्छ, अनि अण्डा पार्नका लागि आफ्नो घर निर्माण गर्छ । पोथीको शरीरबाट एक प्रकारको गम वा नरम पदार्थ निस्कन्छ, जसलाई लाहा भनिन्छ । लाहा भालेले बनाउन सक्दैन । 
    लाहा उत्पादनका लागि मनसुनी वर्षा र १५ डिग्री सेल्सियसदेखि ४०÷४५ डिग्री सेल्सियसम्म तापक्रम राम्रो मानिन्छ । वातावरणका दृष्टिले नेपालमा यसको खेती उपयुक्त देखिन्छ । 

    यसको बजार
    लाहाको प्रयोग फर्निचरको रङ, गरगहना, मेकअपका सामान, जुत्ताको पोलिस, नेल पोलिस, क्याप्सुल, ट्याब्लेट, बिजुलीका बल्ब, लाहा छाप, हातहतियार आदिमा प्रयोग गरिन्छ । त्यसैले यसको बजार नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत छ । 
    शिलबन्दीका लागि प्रयोग हुने लाहा फर्निचर, हार्डवेयर र सुनचाँदी व्यवसायीले अत्यधिक प्रयोग गर्ने गरेको विकको भनाइ छ । झापाका फर्निचर व्यवसायी, हार्डवेयर व्यवसायी र सुनचाँदी व्यवसायीले भारतबाट लाहा आयात गर्ने गरेका छन्– विकले भने– ‘लाहाको उत्पादन झापामै गर्न सके भरतबाट लाहा आयात कम हुने र विदेशिने रकम रोकिने थियो ।’
    विकका अनुसार एक केजी लाहा आयात गर्दा व्यवसायीले चार हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । भारतमा उत्पादित लाहा जापान निर्यात हुने गरेको बताउँदै विकले भने– ‘राम्रो लाहा विदेशमा नेलपोलिस र लिपिष्टिक बनाउन प्रयोग गरिन्छ, केही कमसल लाहा केमिकलको सट्टा स्टार होटलमा लेपनका लागि प्रयोग गर्ने गरिन्छ ।’
    लाहा अधिक मात्रामा फर्निचरमा प्राकृतिक रंग निकाल्न प्रयोग हुने गरेको छ– विकले भने– ‘लाहाको प्रयोगले असर गर्दैन, रंगको प्रयोगले असर गर्छ तसर्थ अधिकांश ठूला होटलमा लाहाको प्रयोग हुँदै आएको छ ।’
    झापामा आफूले लाहा उद्योग स्थापना गरेपछि कच्चा पदार्थका लागि किरा खरिद गरेर ल्याएको र सिसौ, वयर, खयर, रहरमा किरा छाडेको बताउँदै विकले भने–‘झापामा लाहा उत्पादन शुरु गरेको यो पहिलोपटक हो, यसमा स्थानीय सरकारले सहयोग गर्ने हो भने झापालाई पुग्ने लाहा उत्पादन गर्दै लाहा खरिदका लागि विदेशिने रकम रोक्न सकिने थियो ।’
    विदेशमा सिकेको सिपको प्रयोग गर्दै आफू पनि रोजगार बन्ने र अरुलाई पनि रोजगारीको अवसर सृजना गर्न सकिने विकले बताए । उनले भने– आफ्नै ठाउँमा कच्च पदार्थ उत्पादन हुन्छ, यही उद्योग स्थापना गरेको छु तर सहयोग कतैबाट पाएको छैन ।’
    लाहा उद्योग सञ्चालन गरेका विकले डिभिजनल बन कार्यालय झापालाई सहयोगको माग गरेका छन् । उनले डिभिजनल प्रमुख विष्णुलाल घिमिरेलाई ज्ञापन–पत्र बुझाउँदै झापाको निजी तथा सामुदायिक बनमा लाहा उत्पादन गर्ने किरा लगाउन सकिने र लाहाको कच्चा पदार्थ संकलन गर्दै लाहा उत्पादन गर्न सकिने बताए । जसका लागि उनले आफूसहित यो पेशा व्यवसायमा कृषकलाई आकर्षित गरिदिन ज्ञापनमार्फत माग गरेका छन् ।
    शुरुमा धनकुटा र तेह्रथुमबाट प्रतिकेजी ३५० रुपैयाँमा लाहाको कच्चा पदार्थ झिकाएर उत्पादन शुरु गरेको उनको भनाइ छ । विकले उत्पादन गरेको लाहा अहिले प्रतिकेजी एक हजार रुपैयाँसम्ममा विक्री हुने गरेको छ । आर्थिक अभावका कारण लाहा धुने मेसिन खरिद गर्न नसकिएको बताउँदै विकले भने – स्थानीय तह, अर्थात् जिल्ला बनले मेसिन खरिद गर्न आर्थिक सहयोग गर्ने हो भने झापालाई लाहामा आत्मनिर्भर बनाउन सकिन्छ ।’
    प्रशस्त लाहाका लागि कच्चा पदार्थ हुने हो भने झापाका हरेक नागरिकले मनग्ये आम्दानी गर्न सक्ने उनको भनाइ छ । लाहाको बजार नेपालमा ठूलो छ यहाँ धेरै लाहा खपत हुन्छ, गुणस्तरीय लाहा उत्पादन गर्न सकिए विदेश निर्यात गरेर पनि मनग्ये आम्दानी गर्न सकिन्छ ।
    निर्वाचनको समयमा सरकारले भारत लगायत तेस्रो देशबाट करोडौं रुपैयाँको लाहा आयात गरेको थियो । निर्वाचन कार्यालयको तथ्याङ्कलाई आधार मान्ने हो भने मत पेटिकामा लाहा छापका लागि मात्रै सरकारले करोडौंको लाहा आयात गरेको थियो ।
    प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले ६७ प्रकारका निर्वाचन सामग्री किन्न करिब चार अर्ब रूपैयाँ खर्च गरेको थियो । जसमध्ये लाहा भारतबाट मात्र आयात गरेको थियो । स्वदेशमा प्रशस्त कच्चा पदार्थ भए पनि सरकारले लाहा उत्पादनमा चासो नदेखाएका कारण लाहा आयातका लागि भारत लगायत तेस्रो देशको भर पर्नु परेको विकको भनाइ छ ।
     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…