•  नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्नुभएको छ ।
         
        विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उहाँसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।
         
        “उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ”, आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि रासससँग प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले भन्नुभयो, “आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर समस्या भएको छ, त्यसकारण ठेक्का प्रक्रिया अघि बढ्न नसकेको र कामले गति लिन सकेको छैन भन्ने उहाँहरुको चासो छ ।”
         
        छलफलका क्रममा नयाँ विकास आयोजना र कार्यक्रमबारे पनि छलफल भएको उहाँले बताउनुभयो । “उहाँहरूले विभिन्न क्षेत्रमा सहयोग गर्न चाहन्छौं भन्नुभएको छ, एसियाली विकास बैंकले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन्, त्यस्तै सडक आयोजनाहरुमा पनि बजेटरी सहयोगका लागि उनीहरुको चासो छ”, अर्थमन्त्री महतले भन्नुभयो ।
         
        नेपालले अनुदान र सहुलियतपूर्ण ऋणलाई बढी प्राथमिकता दिनेबारे ती विकास साझेदारलाई आफुले जानकारी गराएको पनि मन्त्री महतको भनाइ छ । “उहाँहरुले अझै धेरै सहयोग गर्न चाहेको बताइरहँदा हामीले पनि अनुदान र सहुलियतपूर्ण ऋणलाई प्राथमिकतामा राख्ने भनेका छौं, यसमा उहाँहरु पनि सहमत हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
         
        नेपालको समग्र आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे पनि विश्व बैंक र एडिबीले चासो देखाएका छन् । तात्कालिन आर्थिक समस्या र सरकारको प्राथमिकताबारे अर्थमन्त्रीसँग चासो राखेका थिए । अर्थतन्त्रमा देखिएका समस्या समाधान र मुख्यगरी खर्च गर्ने क्षमतामा देखिएको समस्यालाई बिस्तारै हटाउँदै जानेबारे प्रतिवद्ध रहेको अर्थमन्त्री महतले बताउनुभयो ।
         
        अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरु, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थाल्नुभएको छ । तात्कालिन अवस्थामा अर्थतन्त्रमा खस्किएको मनोबल उकास्नु आफ्नो पहिलो काम हुने पनि उहाँले बताउँदै आउनुभएको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…