• मोरङ । कोशी प्रदेश नाम खारेजीको अभियानमा लागेका साहित्यकार तथा पत्रकार जनकऋषी राई लगायत दुई जनालाई बिहिबार अपरान्ह प्रहरीले पक्राउ गरेको छ ।
    कोशी प्रदेश नाम खारेजीको अभियान स्वरुप बिहिबार ‘पहिचानको लागि सडक साहित्य यात्रा—२०७९’ प्रदेश १ सभाको गेट अगाडि सुरुहुन लाग्दा प्रहरी हस्तक्षेप भएको हो ।
    किरात राई लेखक संघ, थाक्थुङ लेखक संघ केन्द्रीय समिति, किरात अन्तराष्ट्रिय सांस्कृतिक अभियानको संयुक्त अयोजनामा आज ‘पहिचानको लागि सडक साहित्य यात्रा—२०७९’ कबिता वाचन गर्ने क्रममा प्रहरी हस्तक्षेप भएको किरात राई लेखक संघका केन्द्रीय अध्यक्ष बलिराज खम्बूले बताए । 
    किरात प्रज्ञा परिषद सदस्यसमेत रहेका जनकऋषी राई नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष तथा साहित्यकार हुन् । राईद्वारा लिखित नाटक ‘कुमार मामा’ धरानमा प्रदर्शन भइरहेको छ । राईसँगै रहेका पत्रकार सञ्जय याक्खालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 
    सडक सहित्य अभियानमा रचना वाचन गर्न राई र याक्खा धरानबाट त्यहा आएका थिए । प्रहरीले निषेधित क्षेत्रमा कार्यक्रम गर्न नदिने र आयोजकले ब्यानर टाँगेर गर्न लाग्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 
    दुई जनालाई प्रहरीले पक्रेपछि कार्यक्रम देवकोटा चोकमा भइरहेको किरात राई लेखक संघका अध्यक्ष बलिराज खम्बूले जानकारी दिए । ‘इतिहास र सभ्यताको सम्मान, पहिचानसहितको नामकरण, कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार’ भन्ने मूल नाराको साथ ‘पहिचानको लागि सडक साहित्य यात्रा—२०७९’ सुरु भएको हो । अभियान आजै सुनसरीको इटहरी गर्ने कार्यक्रम रहेको थियो । कार्यक्रम प्रदेशको १४ जिल्लाकै जिल्ला प्रशासन कार्यालयको गेटमा गर्ने हुने किरात प्रज्ञा परिषद सदस्य समेत रहेका अभियान्ता भद्रगोल किरातीले बताए । 
    आन्दोलानमा लागेका दुई जना लेखक÷साहित्यकार तथा पत्रकारलाई पक्राउ गरेपछि प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गरी बिनासर्त रिहाइको माग गरेको छ । 
    प्रदेश नंं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको तर्फबाट किरात याक्थुङ  चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खा सहअध्यक्ष ज्ञानबहादुर राई, पहिचानसहितको प्रदेश नं. १ पुनः नामकरण समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल शेर्पा सङ्घको अध्यक्ष ग्याल्जे शेर्पाद्वारा हस्ताक्षरित विज्ञप्तिमा पक्राउ परेका दुवै जनालाई निसर्त रिहाइ गर्न माग गरिएको छ ।
    विज्ञप्तिमा ‘शान्तिपूर्ण आन्दोलनमा सहभागी आन्दोलनकारीहरुलाई प्रहरी प्रशासनले गरेको यसखाले धरपकट प्रति घोर भत्सर्ना गर्दै पक्राउ परेकाहरुलाई बिनासर्त तुरुन्तै रिहाइ गर्न सम्बन्धित सरोकारवाला निकायमा माग गर्दछौँ, अन्यथा यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा सरकार र सरोकारवाला निकायले लिनुपर्ने जानकारी गराउँदछौँ ।’ 

    किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भए आन्दोलन अझ कडा हुने चेतावनी दिएका छन् । 

सम्वन्धित समाचार

सुनसरी । सुनसरीको इटहरीमा विश्वमा बढ्दो तापक्रम र आदिवासी जनजातिको तर्फबाट समाधानको उपायहरु बारे दुई दि…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका आर्थिक वर्ष २०८२÷०८३ को बजेट आइतबार पत्रकार सम्मेलनको आयोजना …

मोरङ । डिभिजन वन कार्यालय मोरङले ल्याएको ‘कानेपोखरी—लेटाङ सरकारद्वारा व्यवस्थित (चक्ला) वन व्य…

मोरङ । गण्डकी प्रदेश सभाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेकोमा मोरङको पथरीश…