लिम्बू जातिको लोकप्रिय नृत्य केलाःङ (च्याब्रुङ नाच)सम्बन्धी अन्तर्राष्ट्रिय महोत्सव मंगलबार फिदिममा सुरु भएको छ । पश्चिमा संस्कृतिको प्रभावले स्थानीय कला संस्कृति लोप हुने खतरा बढेको भन्दै लिम्बू जातिको जातीय, भाषीक, साँस्कृतिक उत्थान र विकासमा सक्रिय संघ संस्थाहरुले महोत्सवको आयोजना गरेका हुन् । महोत्सवमा पूर्वी नेपालका लिम्बू जातिको बसोबास रहेका ९ जिल्ला तथा भारतको पश्चिम बङ्गालको सिक्किमबाट च्याब्रुङ टोलीहरु आएका छन् । महोत्सवमा जम्मा २२ ओटा च्याब्रुङ टोली सहभागी भएका छन् ।

जातीय, भाषीक, साँस्कृतिक, साहित्यिक रुपमा लिम्बू समुदायका अगुवाहरु पाँचथर ‘लिम्बुवान’को राजधानी भएको दाबी गर्छन् । तर, यो दाबी पुष्टि गर्ने प्रशस्तै आधारहरु पाँचथरको लिम्बू समुदायसँग छ । केलाङ महोत्सवमा देखिएको जागरुकता चानचुने र सामान्य छैन् । अन्य स्थानमा यस्तै कार्य सम्पन्न गर्न निक्कै कठीन छ । अन्य जिल्लाबाट १/२ ओटा च्याब्रुङ टोली महोत्सव आइपुग्दा पाँचथरका विभिन्न गाँउपालिकाबाट च्याब्रुङ टोली महोत्सवमा भाग लिन आइपुगे । यो महोत्सव सम्पन्न गर्न जातीय, भाषीक, साँस्कृतिक, साहित्यिक रुपमा सक्रिय अगुवाहरुले नै रकम सङ्कलन गरे । सरकारी सहयोगविना यो महत्वपूर्ण कार्यक्रम सम्पन्न गर्नु सामान्य विषय पक्कै होइन् । यसले पाँचथरवासी लिम्बू समुदायको जागरुकता, कला संस्कृति संरक्षणको सक्रियता र अब्बलतालाई पुनः पुष्टि गरेको छ ।

तस्बिरः विपुल अधिकारी























