माघ १७, २०७६
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक तेस्रो दिन पनि राष्ट्रिय सभागृहमा जारी छ। आजको बैठकमा सबैभन्दा पहिले प्रदेश कमिटी अध्यक्षहरुले रिपोर्टिङ गरेका छन्।
बैठकमा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश २ का प्रभु शाह, प्रदेश ३ का नारायण दाहाल, गण्डकी हितराज पाण्डे, प्रदेश ५ की ओनसरी घर्ती, कर्णाली प्रदेशका गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेश कर्ण बहादुर थापाले रिपोर्टिङ गरेका हुन्।
त्यसैगरि सम्पर्क समन्वय कमिटीका अध्यक्ष प्रल्हाद बुढाथोकी, उपत्यका विशेष कमिटीका अध्यक्ष राजन भट्टराई र प्रवास कमिटी अध्यक्ष युवराज चौलागाईले रिपोर्ट प्रस्तुत गरेका छन्।
प्रदेश र अन्य कमिटीका अध्यक्षले रिपोर्ट प्रस्तुत गरिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमाथि टिप्पणीका लागि बनाइएका १५ समूहको तर्फबाट सुझाव प्रस्तुत गरिँदैछ। १५ वटा समूहको तर्फबाट टोली नेताका रुपमा एक-एकजनाले बैठकमा सुझाव राख्दैछन्।
ओली अनुपस्थित
शुक्रबार जारी तेस्रो दिनको बेठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्। आजको बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यहरुको रिपोर्टिङ सुनेर जवाफ दिने कार्यतालिका छ।
पहिलो दिन बनाइएका १५ वटा समूहले बिहीबार दिनभर छलफल गरेका थिए। अब उनीहरुले लिखित रूपमा आफ्नो समूहको रिपोर्ट प्रस्तुत गर्दैछन्।
नेकपाका ४४७ केन्द्रीय, तथा आमन्त्रित सदस्यमध्ये ४३८ (सचिवालयका ९ जना बाहेक) लाई विभिन्न १५ समूहमा बाँडिएको थियो। अध्यक्षको राजनीतिक प्रतिवेदन तथा महासचिवको संगठनात्मक र विधान संशोधन प्रस्तावमा १५ समूहले छलफल सकेका हुन्।
समूहगत छलफलमा उठेका विषय टोली नेता र उपेनताले बैठकमा राखेपछि अन्य विषयमा छलफल गरिने कार्यक्रम छ। माघ १५ बाट सुरु नेकपा केन्द्रीय कमिटी बैठक १९ गतेसम्म बस्नेछ। बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्नेछ। पार्टी अध्यक्षले २०७७ चैतमा गर्ने प्रस्ताव गरेका छन्।