• काठमाडौं । नेकपाले सभामुखको उम्मेदवार बनाएका अग्नि सापकोटा पार्टीभित्र बर्चश्व राख्ने नेता भित्र पर्छन् । उनी नेकपाका स्थायी कमिटी सदस्य हुन् ।

    उनै सापकोटा सभामुख बन्ने लगभग निश्चित जस्तै बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले लामो प्रयासपछि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै उनी सभामुख बन्‍ने निश्चित बनेको हो ।

    तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि विगत चार महिनादेखि रिक्त रहँदै आएको सभामुखमा लामो बहस र छलफलपछि नेकपाले उम्मेदवार टुङ्गो लगाएको हो ।

    यस्तो छ महराको जीवन यात्रा

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ निवासी सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् ।

    उनी पूर्व शिक्षकसमेत हुन् । सापकोटा १५ वर्ष जति शिक्षण पेसामा आवद्ध रहे । सात वर्षसम्म माध्यमिक विद्यालयका प्रधानाध्यापक भएका सापकोटाले १५ वर्ष शिक्षण गरेका छन् ।

    सिन्धुपाल्चोकबाट सापकोटा तीनपटक सांसद पदमा निर्वाचित भएका थिए । २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनी सञ्चारमन्त्री र २०७२ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा वनमन्त्री थिए ।

    अध्ययनकै क्रममा २०२९ सालमा विद्यार्थी संगठनमा आबद्ध भई २०३५ सालमा (नेकपा चौथो महाधिवेशन)मा पार्टीको सदस्यता प्राप्त गरेका थिए । उनले २०३७ मा शिक्षक संघर्ष समितिको सदस्य (नेराशिस) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै नेराशिसको केन्द्रीय महासचिव र उपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

    २०४८ मा शिक्षकबाट राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए । उनी २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए । २०५१ मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनी २०५२ माघदेखि भूमिगत भए ।

    २०५२ फागुनबाट सुरु सशस्त्र युद्धको नेतृत्वमा पूर्वी उपक्षेत्रीय ब्युरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट ब्युरो सदस्यमा निर्वाचित भएका सापकोटा २०५८ मा पार्टीबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी भएका थिए ।

    १४ चैत २०६२ मा सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकोप्टरबाट प्रहार भएको गोली तीन ठाउँमा लागेर गम्भीर घाइते भएका उनी २०६२/६३ को दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाई जनआन्दोलनमा परिचालन गर्ने नेतृत्वमा थिए ।

    २०६९ माघमा भएको एकीकृत नेकपा (माओवादी)को हेटौंडा महाधिवेशनवाट पोलिटब्युरो सदस्य निर्वाचित सापकोटा २०६९ साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

    २०७१ मा भएको विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य र २०७३ मा नेकपा (माओवादी केन्द्र) को कार्यालय सदस्यको जिम्मेवारी निर्वाह गरेका सापकोटा अहिले नेकपा स्थायी कमिटी सदस्य छन् ।

    स्पष्ट वक्ता र राजनीतिमा कहिल्यै विचलित नहुने स्वभावका नेताको रुपमा सापकोटालाई लिइन्छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमा सहमति भएपछि आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले उनलाई सभामुखको उम्मेदवार बनाउन सर्वसम्मतिले निर्णय गरेको हो । पार्टी महासचिव विष्णुप्रसाद पौडेलका अनुसार प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सचिवालयलमा सर्वसम्मतिले निर्णय भएको हो ।

    प्रतिनिधिसभामा सत्तारुढ नेकपाको स्पष्ट बहुमत भएकाले सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित हुने पक्कापक्की नै रहेको छ । प्रतिनिधिसभाको बैठक सोमबारका लागि बोलाइएको छ ।

    सोमबारदेखि नै सभामुख चयनको प्रक्रिया शुरु गर्ने तयारीमा सङ्घीय संसद् सचिवालय रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…