• काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाको पुस ११ को एकपक्षीय निर्णय सच्याउन सामूहिक दबाब दिने निष्कर्षसहित जिल्ला सभापति भेला बुधबार सम्पन्‍न भएको छ। भेलाको निचोड र सुझाव सभापति देउवालाई बिहीबार बिहान उनकै निवासमा बुझाउने तयारी छ।

    देउवा मनोनीत बहुमतका आधारमा पेलेर अघि बढेपछि असन्तुष्ट पक्ष (रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, सुजाता कोइराला लगायतको समूह) ले केन्द्रीय समति बैठक बहिष्कार गर्दै आएको थियो।

    पुस ११ गते संस्थापन पक्षले केन्द्रीय समिति बैठकबाट महाधिवेशन तिथि सार्वजनिक, केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्‍ने, विभाग संख्या २८ बाट ४७ पुर्‍याउने, तरुण दलको म्याद ६ महिना थप्ने लगायतका निर्णय गरेपछि असन्तुष्ट पक्षले त्यसविरुद्ध अभियान थालेको थियो। भेलामा देउवा पक्षका भनिएका जिल्ला सभापतिसमेत सहभागी भएपछि देउवा हच्केका छन्।

    क्रियाशील सदस्यता वितरणका विषयमा विधानका कतिपय धारा निलम्बन गरिएको विरोधमा सन्तुष्ट पक्षले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ। असन्तुष्ट पक्षले राष्ट्रियसभा सदस्य चयनका लागि सभापति देउवाले डाकेको बैठक पनि बहिष्कार गरेको थियो।

    देउवाले जिल्ला सभापति भेलाको निर्णयलाई सुझावका रूपमा लिँदै असन्तुष्ट पक्षलाई बूढानीलकण्ठमा स्वागत गर्ने भएका छन्। यसका लागि सभापति देउवा दिवाभोज गर्ने तयारीमा छन्। तीन दिन सानेपामा असन्तुष्ट पक्षले बहुमत प्रदर्शन गरेपछि देउवाले सहमति गरेर अघि बढ्न आफू तयार रहेको सन्देश दिन खोजेको बताइएको छ।

    देउवा पक्षले स्थानीय चुनावको मुखमा महाधिवेशन बोलाएर पार्टीभित्र आन्तरिक विवाद चर्काउन खोजेको र त्यसले चुनावमा कांग्रेसलाई घाटा हुने तर्क राखेको छ। महाधिवेशन सकेर ६ महिनापछि चुनावमा जाँदा कांग्रेसलाई घाटा मात्रै हुने विश्लेषण गर्दै असन्तुष्ट पक्षले मंसिरमै महाधिवेशन सक्ने गरी क्यालेन्डर बनाउनुपर्ने प्रस्ताव अघि सारेको हो।

    विधानको प्रावधानअनुसार विशेष परिस्थति देखाएर ६ महिना म्याद बढाउने र अन्ततः महाधिवेशन टार्ने रणनीतिअनुसार यस्तो क्यालेन्डर ल्याएको आशंका असन्तुष्ट पक्षले गर्दै आएको छ।

    यसैबीच युवा नेताहरूले पनि देउवालाई सबैको साझा सभापतिको भूमिका निर्वाह गर्न आग्रह गर्दै केही चाटुककारको पछि नपर्न सुझाव दिएका छन्। आफू साँच्चै घेरामा परेको अनुभव गर्दै देउवा फरक रूपमा अघि बढ्ने संकेतका रूपमा यसलाई लिन सकिन्छ।

    भेलाको समापनमा सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको भेला गुट विशेषको नभएर कांग्रेस भेला भएको बताए। ‘भेलाले कांग्रेसलाई अझै एकजुट र सुदृढ हुन ऊर्जा दिएको छ,’ उनले भने, ‘भेलाको सुझावले महाधिवेशनको माहोल तयार गरेको छ।’

    पौडेलले मनोनीतको साथ लिएर बहुमतको आडमा पेल्ने कदम सच्याउन भेलाले सकारात्मक सन्देश दिएको पनि बताए। ‘मनोनीत व्यक्तिहरु राखेर बहुमतको आडमा गरिएका एकपक्षीय निर्णय नसच्चाए अर्को कदम चालिनेछ,’ पार्टी महामन्त्री शशांक कोइरालाले भने, ‘अब सहमति गरेर महाधिवेशन तयारीमा जुट्नुको विकल्प छैन।’

    भेलाका एक सहभागीले देउवा आफैं सच्चिनुपर्ने बताए। ‘अधिकांश नेता तथा जिल्ला सभापतिले गुटबन्दीले पार्टी तहसनहस भएको छ। सभापति देउवा आफ्नो गुट बलियो बनाउन र जसरी पनि फेरि सभापति हुने ध्याउन्नामा छन्,’ भेलाका एक सहभागीले भने, ‘सहमतिमा भन्दा पनि एकपक्षीय रूपमा निर्णय गर्न थालेका छन्। उहाँ स्वयं सच्चिनुपर्छ।’

    एकल निर्णय गर्दा पार्टी दुर्घटनामा पर्नेतर्फ सभापतिलाई सचेत गराउन भेला आयोजना गरिएको नेता प्रकाशमान सिंहले बताए। ‘जतिसुकै बलियो र लोकतान्त्रिक पार्टी भए पनि गलत अभ्यासले पार्टी दुर्घटनामा पर्छ’, उनले भने, ‘सभापतिज्यूले पटक–पटक यस्तै गर्नुभएको छ। अहिले गरेको गलत निर्णय सच्याउनुपर्छ। हाम्रो बटमलाइन त्यही हो, हामी दल बलियो बनाउने पक्षमा छौं। कुनै गुट बलियो बनाएर अघि बढ्ने भन्ने सोचमा छैनौं।’

    बहुमत जिल्ला सभापति सहभागी तीनदिने भेलामा वरिष्ठ नेता पौडेल, महामन्‍त्री कोइराला, नेता सिंह, डा. महत, केसी, कृष्णप्रसाद सिटौला, बलबहादुर केसीलगायतका नेताले सम्बोधन गरेका थिए। भेलामा चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरु घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डे लगायत सहभागी थिए।

    भेलामा नेताहरुले ०७७ को मंसिरभित्रै महाधिवेशन सम्पन्‍न गर्ने गरी स्थानीय तहदेखि केन्द्रसम्म अभियान चलाउनुपर्नेमा जोड दिएका थिए। नेतृत्वले उक्त भेलालाई महाधिवेशनको पूर्वाभ्यास भनेको छ।

    देउवा पक्षले पनि लगातार छलफल गरिरहेको छ। केन्द्रीय सदस्य गगन थापाले भने, ‘सच्चिएर मिलेर अघि बढ्नुपर्छ। सभापति सबैको अभिभावक बन्नुपर्छ।’ असन्तुष्ट पक्षको बहिष्कार र विरोधबीच पुस ११ मा मनोनीत बहुमतको आडमा महत्त‍्वपूर्ण निर्णय गरेपछि कांग्रेसभित्रको किचलोले जटिल मोड लिएको हो।
    (अन्नपूर्ण पोष्टबाट)

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…