• काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एक नर्सिङ अधिकृत निजी अस्पतालमा कार्यरत रहेको खुल्न आएको छ । प्रतिष्ठानको नर्सिङ फ्याकल्टीकी नर्सिङ अधिकृत सरिता श्रेष्ठ रिमाल शक्ति केन्द्रको आडमा निजी अस्पतालमा करिब एक वर्षदेखि कार्यरत खुल्न आएको हो ।

    उनले प्रतिष्ठानमा तत्कालिन उपकुलपति डा. राजकुमार रौनियार र बहालवाला अस्पताल निर्देशक डा. गौरीशंकर शाहलाई प्रभावमा पारेर ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा काजमा आएकी छिन् । गैरआवासिय नेपाली संघ एनआरएनएका संस्थापक उपेन्द्र महतोले सञ्चालन गरेको नेपाल मेडिसिटीमा उनी एक वर्ष अघि काजमा आएकी हुन् । उनका श्रीमान विजय रिमाल मेडिसिटीको बरिष्ठ प्रबन्धक रहेको र उनैले उपेन्द्र महतोको बलमा श्रीमतीलाई प्रतिष्ठानबाट आफुसँगै काजमा मेडिसिटी ल्याएका हुन् ।

    विजय रिमाल केहि वर्ष अघिसम्म धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिए । प्रतिष्ठानमा सुचना अधिकृत रहेरै उपेन्द्र महतोसँग नजिकिएका उनी महतोले आफ्नी आमाको नाममा सिराहामा सञ्चालन गरेको फुलकुमारी महतो मेमोरियल अस्पतालमा गए । प्रतिष्ठानको हुँदा खाँदाको राम्रो जागिर त्यागेर फुलकुमारी गएका विजय रिमालले त्यसपछि उपेन्द्र महतोले काठमाडौं स्थित ग्राण्डी इन्टरनेशनल आए ।

    नेपालको स्वास्थ्य सेवाबाट अकूत कमाउने मनसायले उनै महतोले ललितपुर स्थित भैसेपाटीमा विश्वकै सर्वोत्कृष्ठ स्वास्थ्य सेवा दिने भन्दै करोडौं लगानीमा नेपाल मेडिसिटी हस्पिटल स्थापना गर्दै विजय रिमाललाई त्यहाँको ब्यवस्थापन हेर्न खटाए । मेडिसिटी आएका उनले महतोकै छत्रछाँयामा रहेर राजनीतिक शक्तिपनि आर्जन गरेर स्वास्थ्य मन्त्रालयबाटै श्रीमतीको काज सरुवा गराए । प्रतिष्ठानका हालका निलम्बित उपकुलपति डा. राजकुमार रौनियार तथा बर्तमान अस्पताल निर्देशक डा. गौरिशंकर शाहलाई फकाएर उनले नियमविपरित मेडिसिटिमा श्रीमतीलाई काजमा ल्याएको बुझिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनले स्वास्थ्यमन्त्री उपेन्द्र यादवको ठाडो आदेशमा श्रीमतीलाई मेडिसिटी लगेका हुन् ।

    सरकारी कर्मचारीलाई निजी क्षेत्रमा काजमा पठाउन नपाईने प्रावधान भएपनि नर्सिङ अधिकृत सरिता श्रेष्ठ भने आरामले मेडिसिटीमा काम गरिरहेकी छिन् । उनी एक वर्षदेखि बेतलवी विदा लिएर काजमा मेडिसिटी गएको प्रतिष्ठानका कर्मचारी प्रशासनका एक कर्मचारीले बताए ।

    प्रतिष्ठान स्रोतका अनुसार सिराहा स्थित फुलकुमारी महतो अस्पतालमा सेवा दिने भन्ने किर्ते कागजात पेश गरी उपेन्द्र महतो मार्फत विजय रिमालले तत्कालिन उपकुलपति डा. रौनियारलाई प्रभावमा पारी बेतलवी विदा स्विकृत गराई मेडिसिटीमा नियमविपरित काम गराईरहेका छन् ।

    प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. गुरु खनालले सरिता श्रेष्ठ रिमालले मेडिसिटी गएको थाहा भएपनि कसरी गएको जानकारी लिने बताए । ‘एक वर्ष अघिको कुरा हो, काजमा गएको होकी राजीनामा दिएर गएको हो बुझ्नु पर्छ ।’ डा. खनालले भने । प्रतिष्ठानका एक सामान्य प्रशासनका एक कर्मचारीले सरिता श्रेष्ठले १५ दिन अघि प्रतिष्ठानमा राजिनामा दिएको जिकिर गरे । ‘कसरी काजमा गएको हो थाहा भएन तर, उनले १५ दिन अघि यहाँ राजीनामा दिएकी छिन् ।’ उनले भने ।

    यसरी काज लिएर निजी संस्थामा गइ काम गर्नु प्रतिष्ठानको नियम विपरित रहेको छ । ‘यहाँ यस्ता धेरै कर्मचारी डाक्टरको हालीमुहाली छ जो तलब यहाँको खान्छन् काम चै निजी क्लिनिक र अस्पतालमा गर्छन् । पदाधिकारी नै प्रतिष्ठानको श्री सम्पत्ति बेचेर खाने खालका छन्, अरुको के कुरा गर्नु ?’ उनी भन्छन् । सरकारी स्वास्थ्य संस्थामा भने प्रतिष्ठान र नेपाल सरकारले नै बेलाबेलामा चिकित्सक, नर्सहरुलाई काजमा पठाउने ब्यवस्था छ । प्रतिष्ठानका उपकुलपति केहि महिनाअघि ठेकेदारसँग ८ लाख घूस लिँदालिँदै रंगेहात अख्तियारको फन्दामा परेका थिए ।

    प्रतिष्ठानका कर्मचारीलाई निजी अस्पतालमा काजमा पठाएको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत गुनासो गएको बुझिएको छ । प्रतिष्ठानका चिकित्सक, कर्मचारी र उपकुलपति समेत भ्रष्टाचार र घूस काण्डमा अख्तियारको निगरानीमा रहेको अवस्थामा आयोगले कार्यरत कर्मचारी र वहालवाला पदाधिकारी माथि समेत निगरानी गरेको छ ।

    अस्पताल निर्देशक डा. गौरिशंकर शाहको पद धरापमा

    प्रतिष्ठानका उपकुलपति डा. रौनियार घूसकाण्डमा निलम्वित भइसकेको अवस्थामा उनैले सिफारिस गरेका अस्पताल निर्देशक डा. गौरिशंकर शाह, सहायक अस्पताल निर्देशक डा. विकास शाह लगायतको पद पनि धरापमा परेको छ । डा. रौनियारको निलम्बन पछि सर्वशक्तिमान भएका अस्पताल निर्देशकले अहिले मनपरी गर्न थालेका छन् ।

    स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रतिष्ठानका शिक्षाध्यक्ष डा.गुरु खनाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएपनि उनलाई दैनिक काम कारवाही गर्नु वाहेक अन्य अधिकार छैन । यहि फाइदा उठाउँदै डा. राजकुमार रौनियारले तत्कालिन अवस्थामा अस्पताल निर्देशकलाई प्रदान गरेको अधिकार प्रयोग गर्दै कमाउ धन्धा सुरु गरेको प्रतिष्ठान स्रोतको दावि छ ।

    उनले अहिले अस्पताल सञ्चालनार्थ भन्दै खुद्रे खरिदलाई प्राथमिकता दिएका छन् । अस्पतालमा आवश्यक औषधी तथा सरसामानहरु ५ लाख भन्दामा खरिद गर्दै उनले मेडिकल सप्लायर्सबाट मोटो कमिसन खाने गरेको स्रोतको दावि छ । एकथरीले जसले नियुक्तिको सिफारिस गर्यो उ नै घूसकाण्डमा निलम्बनमा रहेको अवस्थामा उसले सिफारिस गरेकाहरुले काम गर्नु नै नियम संगत नरहेको भन्दै आवाज उठाउन थालिरहेका छन् ।

    प्रतिष्ठान अस्तब्यस्त

    बहालवाला उपकुलपति सहित पूर्वउपकुलपति, रजिष्ट्रार, पूर्व रजिष्ट्रार, डेपुटी रजिष्ट्रार सहित कर्मचारी नै भ्रष्टाचारको मुद्दामा निलम्बनमा परेपछि अहिले प्रतिष्ठान अस्तब्यस्त बनेको छ । ‘अख्तियारको एक्सनले प्रतिष्ठानमा मुर्दा शान्ति छाएको छ, कामकारवाही ठप्प छ, अब धमाधम नयाँ पदाधिकारी चयन नगरे प्रतिष्ठानले चिकित्सक, कर्मचारीलाई तलब खुवाउने अवस्था छैन ।’ लेखा शाखाका एक कर्मचारी भन्छन् । कतिपय चिकित्सकले प्रतिष्ठान शिक्षण संस्था र अस्पताल भन्दा बढि लोग्ने स्वास्नी भर्ति केन्द्र हुँदै गएको भन्दै सामाजिक सञ्जालमा आक्रोस समेत ब्यक्त गर्न थालेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…