काठमाडौँ। तपाईं सवारीसाधन लिएर पशुपतिनाथको दर्शन गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब वनकाली चौरमा पार्किङ गरेर दर्शनका लागि जानुहोला नत्र कारबाहीमा पर्नुहुन्छ । आजदेखि विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्व बोकेको आराध्यदेव पशुपतिनाथको दर्शन गर्न जाने यात्रुलाई सहजरुपमा दर्शन गर्ने वातावरण मिलाउन चार शिवालय (वनकाली)देखि उत्तरतर्फको भागसम्म सवारीसाधन प्रवेश निषेध गरिएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाका पदाधिकारीको गत असोज ३० गते बसेको संयुक्त बैठकले पशुपति क्षेत्रभित्र सवारीसाधन निषेध गर्ने निर्णयअनुसार उक्त क्षेत्रमा सवारीसाधन प्रवेशमा निषेध गरिएको हो । चार शिवालयदेखि उत्तर, जय वागेश्वरीबाट पूर्व र दक्षिणामूर्तिबाट दक्षिणको भागलाई सवारीसाधन प्रवेश निषेधित क्षेत्रका रुपमा घोषणा गरिएको हो । जसमा दक्षिणामूर्तिबाट मित्रपार्कसम्म जाने सवारीसाधनलाई एकतर्फी गरिएको छ ।
कोषले वनकाली चौरमा पार्किङ गर्ने व्यवस्था मिलाएको छ । शव वाहन, एम्बुलेन्स, दमकल र सुरक्षाकर्मीका अत्यावश्यक सवारीसाधनलाई भने रोक लगाइएको छ्रैन । काठमाडौँ महानगरपालिकास्थित वडा नं ८ गौशालामा बस्ने स्थानीय सुनील वैद्य सवारीसाधन निषेधित क्षेत्र घोषणा गरेर स्थानीयलाई समस्या परेको बताउनुभयो । “हामी यहिँ क्षेत्रका बासिन्दा हौँ, हामी जतिखेर पनि साधनमा आऊजाऊ गर्नुपर्ने हुन्छ, हामीलाई समस्या परेको छ”– उहाँले भन्नुभयो । मन्दिरमा लामो समयदेखि पूजा गर्दै आउनुभएका बेदप्रसाद दुलालले सवारीसाधनको प्रवेश रोकिएसँगै पूजालगायतका सामग्री भित्र लैजान अप्ठ्यारो पर्ने बताउनुभयो । वनकाली चौरबाट पशुपतिनाथको मन्दिरको दूरी ४०० मिटर टाढा छ । पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा प्रदीप ढकालले तीर्थयात्रीलाई आवागमन गर्न सहज होस् भन्ने उद्देश्यले कोषले महाशाखासँग छलफल गरेर सवारीसाधन प्रवेश निषेध क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो ।