आज कुकुर तिहार । घर–घरमा कुकुरको पूजा भइरहेको छ । यस पर्वमा कुकुरलाई सयपत्रीको माला, टिका लगाइदिएर मीठो खानेकुरा खान दिइन्छ ।
हरेक वर्ष कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ, जुनदिनलाई नरक चर्तुदशी पनि भनिन्छ । कुकुर भैरवको बाहन पनि हो । हिन्दू परम्परा र पुराणमा कुकुरको विशेष स्थान रहेको छ । महाभारत युद्धपछि पाँच पाण्डव स्वर्ग जाने क्रममा एउटा कुकुर पनि पछि लागेको हुन्छ । स्वर्गको ढोकानेर पुगेपछि धर्मराज युधिष्ठिरलाई भनिन्छ, ‘स्वर्गमा तपाईँ मात्र प्रवेश गर्नुहोला, त्यो कुकुरलाई निषेध छ ।’
युधिष्ठिरले भने, ‘यो कुकुर यहाँसम्म यात्रामा मेरो साथमै रह्यो । अब स्वर्ग पाउने भएपछि मैले उसलाई छोडेर एक्लै स्वर्ग जानु धर्मविपरीत हुन्छ । यो कुकुरलाई पनि साथै लैजान पाए स्वर्ग जान्छु, नत्र यहीँबाट फर्कन्छु ।’
खासमा त्यो सन्दर्भ युधिष्ठिरको अन्तिम परीक्षण थियो, उनी धर्मबाट च्युत हुन्छन् कि हुन्नन् भनेर जाँच्ने । त्यसमा पनि उनी उतिर्ण हुन्छन् । आखिर कुकुरको भेषमा स्वयम् इन्द्र नै उनको साथमा आएका रहेछन् ।
यसरी कुकुरको महिमा पौराणिक कालदेखि चल्दै आएको छ ।
हजारौं वर्षको नाता
मानिसको बफादार सेवक एवं सुरक्षाकर्र्मी कुकुरलाई मानिसहरुले करिब ३० हजार वर्ष पहिलेदेखि पाल्तु जनावरका रुपमा आफ्नो साथमा राख्न थालेको पाइन्छ ।
जीव वैज्ञानिकका अनुसार क्रमविकासको कुनै कालखण्डमा कुकुर र ब्वाँसोका पुर्खा एकै थिए । सोही कारण अहिले पनि कुकुर र ब्वाँसोको डिएनए ९९ दशमलव ९ प्रतिशत मिल्छ । आश्चर्यलाग्दो पक्ष के भने कुकुरहरुको रगत १३ प्रकारको हुन्छ । जबकी हामी सर्वश्रेष्ठ प्राणी भनिने मान्छेको रगत जम्मा चार प्रकारको (ए, ओ, बि र एबी) मात्र हुन्छ । कुकुरको नाक र पञ्जा मात्र शरीरको यस्तो अंग हो, जसमा पसिना आउँछ । नाक र पञ्जाबाहेक अन्यत्र पसिना आउँदैन ।
बुद्धिमान् प्राणी
सामान्यतया एउटा कुकुर दुई वर्षको मानिसको बच्चा सरह बुद्धिमान् हुन्छ । कुकुरलाई १५० शब्द सम्झाउन र सिकाउन सकिन्छ । त्यति मात्र हैन, कुकुरले पनि मानिसले झैं सपना देख्नसक्छ । कुकुर सुतिरहेको बेलामा यदि उसको खुट्टा नियाल्ने हो भने उसले जोडले खुट्टा हल्लाइरहेको देख्न सकिन्छ, मानौं, उसले कसैलाई पिछा गरिरहेको हो । या उसले नाकको चुच्चो हल्लाइरहेको देख्न सकिन्छ, मानौं उ केही सुँघिरहेको छ ।
सुरक्षा निकायमा कुकुरलाई अपराधी पत्ता लगाउनका लागि प्रयोग गरिँदै आएको छ । किनकि, यसले सुँघेर नै अपराधी पत्ता लगाउन सक्छ । रोचक कुरा के छ भने कुकुरको सुँघ्ने क्षमता (घ्राण शक्ति) मानिसको भन्दा १० हजार गुणा बढी हुन्छ ।
कुकुरलाई सम्झाउन र बुझाउन सकिने भएकाले अन्तरिक्षमा पहिलोपटक एउटी कुकुर्नी पुगेकी थिई । उसको नाम थियो, लाइका । लाइकालाई ३ नोभेम्बर १९५७ मा तात्कालीन सोभियत संघ (रुस)द्वारा अन्तरिक्षमा पठाइएको थियो । तर अन्तरिक्ष यानमा अत्यधिक गर्मीका कारण लाइकाको मृत्यु भएको थियो ।
पुच्छरको कमाल
कुकुरको पुच्छर बाह« वर्ष ढुँग्रामा राख्दा पनि बाँगोको बाँग्यै किन हुन्छ भने कुकुरले पुच्छर हल्लाउँछ । कुकुरले त्यसरी पुच्छर हल्लाउनुको खास अर्थ हुन्छ । कुकुरले भुकेर मात्र हैन पुच्छर हल्लाएर पनि आफ्नो भाव पोखिरहेको हुन्छ । कुकुरले यदि आफ्नो पुच्छर दायाँतर्फ हल्लायो भने बुझ्नुस् उ खुशी छ । यदि कुकुरले पुच्छर बाँयाँतर्फ हल्लायो भने सम्झनुस् कुकुर क्रोधित छ । जसले कुकुरको यो स्वभाव बुझ्नसक्यो उसले कुकुरलाई बसमा राख्नसक्छ ।
अमेरिकामा बढी पाल्तु कुकुर
हिटलरका नाजी सेनाले कुकुरलाई पढ्ने र लेख्ने क्षमता बिकासको तालिम दिने कोसिस गरेका थिए । तर उनीहरु असफल रहे ।
चीनमा हरेक दिन मासु र छालाका लागि ३० हजार कुकुर काटिन्छ ।
अमेरीकीहरु कुकुर पालनमा बडा सौखिन छन् । एक तथ्यांकका अनुसार अमेरिकाका सात करोड घरमा कुकुर पालिएका छन् ।