• काठमाडौं । संघीय संसद्को पहिलो बैठकले बैठक सञ्चालनको अन्तरिम कार्यविधि पारित गरेपछि दोस्रो बैठक मंगलबारका लागि बोलाइएको छ । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहान ११ बजे एकैसाथ सञ्चालन हुने भएको छ ।

    बैठकले प्रतिनिधिसभाको सभामुख निर्वाचन र राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची रहेको संसद् सचिवालयका सह–प्रवक्ता केशवराज अर्यालले जानकारी दिए ।

    उनका अनुसार मंगलबारको कार्यसूचीमा दुवै सदनले बैठकको अध्यक्षता गर्ने र सञ्चालन गर्ने मुख्य व्यक्तिको निर्वाचनको मिति तय गर्नेछ ।

    सभामुखको निर्वाचनका लागि २६ फागुनको मिति तय गर्ने विषयमा राजनीतिक सहमति जुटिसकेको छ भने राष्ट्रिय सभाको अध्यक्ष निर्वाचनका लागि ३० फागुनको मिति तोक्ने विषयमा सहमति जुटेको छ ।

    मंगलबार हुने बैठकको पहिलो कार्यसूचीमा प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभाको सभामुख निर्वाचनको मिति तय हुनेछ ।

    एमाले र माओवादी केन्द्रको गठबन्धनले पद भागबन्डा गर्दा सभामुख माओवादी केन्द्रको भागमा परेको छ भने राष्ट्रिय सभाको अध्यक्ष एमालेको भागमा परेको छ । दुवै दलले आफ्ना तर्फबाट उम्मेदवारको छनोटका लागि आन्तरिक छलफल गरिरहेका छन् ।

    दुवै सदनको दोस्रो कार्यसूचीमा सदनमा मान्यताप्राप्त दलका नेताले सम्बोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय दलको मान्यताप्राप्त एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका नेताले सदनलाई सम्बोधन गर्नेछन् ।

    आफूहरूले राष्ट्रिय दलको मान्यता नपाए पनि सदनमा बोल्न पाउनुपर्ने भन्दै स्वतन्त्र सांसदका हैसियतमा रहेका नयाँ शक्ति नेपालका डा बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेन र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले माग गरेका छन् ।

    उनीहरूले सदनमा बोल्नका लागि समय माग गरेपछि बोल्न दिने परम्परा भएकाले उनीहरूले समेत बोल्ने कार्यसूची बन्न सक्ने संसद् सचिवालयले जनाएको छ ।





सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…